धनुषा, फागुन २२– तराई मधेस समृद्धि कार्यक्रम तथा शहीदनगर नगरपालिकाको संयुक्त लगानीमा श्री जनता उच्च माध्यमिक विद्यालय, यदुकुहा परिसरमा निर्माण हुन लागेको चारकोठे विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ।
शिलान्यास कार्यक्रम नगरप्रमुख दिनेश प्रसाद यादव, वडा नं. ३ का अध्यक्ष मनोज कुमार दास तथा प्रमुख प्रशासकीय अधिकृत उमेश महतोद्वारा संयुक्त रूपमा सम्पन्न गरिएको हो।
विद्यालयका विद्यार्थीहरूलाई थप सुविधाजनक पठनपाठनको व्यवस्था गर्ने उद्देश्यसहित निर्माण हुन लागेको यो भवनले शिक्षाको गुणस्तर वृद्धि गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमका दौरान नगरप्रमुख यादवले नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि निरन्तर लगानी गरिरहेको बताउँदै भविष्यमा थप संरचना निर्माणको प्रतिबद्धता जनाएका थिए।
विद्यालय प्रशासन तथा स्थानीय अभिभावकहरूले पनि नयाँ भवन निर्माणको सुरुवातलाई स्वागत गर्दै आगामी दिनमा शिक्षाक्षेत्रमा अझ व्यापक सुधारको अपेक्षा व्यक्त गरेका छन्।




