जनकपुरधाम, चैत २९ – शिक्षा मानव विकास सूचकाङ्कको मूल आधार भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश समन्वय कार्यालयले नेपाल शिक्षक महासंघको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ।
पार्टीका मधेश प्रदेश इन्चार्ज मातृका प्रसाद यादवद्वारा जारी विज्ञप्तिमा हालै शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा सुरु भएको आन्दोलनलाई सरकारले वेवास्ता गरेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “विद्यालय शिक्षा ऐन तत्कालिन माओवादी केन्द्र नेतृत्वको सरकारले तयार पारेको हो, जसलाई हालसम्म लागू नगर्नु दुर्भाग्यपूर्ण छ।”
महासंघको माग प्रति सरकार उदासिन रहेको भन्दै यादवले संसदको विशेष अधिवेशन बोलाएर आन्दोलनरत शिक्षकहरुको जायज माग पुरा गर्न सरकारलाई जोडदार अपिल गरेका छन्। साथै, शिक्षक आन्दोलन वेवास्ता गरिए त्यसको सम्पूर्ण जिम्मेवारी सरकार आफैंले लिनुपर्ने चेतावनी पनि उनले दिएका छन्।
देशभर व्यापक रूपमा फैलिएको भ्रष्टाचार र बेथितिका कारण जनतामा बढ्दो असन्तुष्टि रहेको बेला सरकारले शिक्षक आन्दोलनप्रति संवेदनशील हुनुपर्ने उनको भनाइ छ।
“शिक्षा क्षेत्रमा देखिएको विकृति प्रति पनि सम्पूर्ण सरोकारवालाहरु गम्भीर हुन आवश्यक छ,” यादवले भनेका छन्।




