धनुषा, – चैत ३१, २०८१
सबैला नगरपालिका वडा नं.१२, गणेशपुरमा नवनिर्मित सामुदायिक भवनको उद्घाटन समारोह सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता वडा नं. १२ का अध्यक्ष रामनारायण अधिकारीले गर्नुभएको थियो भने उद्घाटन प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव, मधेस इन्चार्ज तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले गर्नुभएको हो।
विशिष्ट अतिथिको रूपमा नगरप्रमुख कारिराम यादवको उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सबिर कुमार महतोले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन बीरेन्द्र लाल कर्णले गर्नुभएको हो।
अतिथि ताहिर मिया र सत्यनारायण यादव लगायत विभिन्न क्षेत्रका सामाजिक, राजनीतिक, बुद्धिजीवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सामुदायिक भवन निर्माणका लागि आफ्नो जग्गा प्रदान गर्ने शिवनारायण बिराजीलाई विशेष सम्मान गरिएको थियो।
माओवादी केन्द्र धनुषा संयोजक दीपक यादव र धनुषाधाम नगरपालिका वडा नं.४ का अध्यक्ष मनोज कुमार यादव समेत कार्यक्रममा सहभागी रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मातृका प्रसाद यादवले वर्तमान संविधानले सबै जातजाति र धर्मलाई समान अधिकार र स्वतन्त्रता सुनिश्चित गरेको उल्लेख गर्दै राजसंस्थाको पुनःस्थापनाको प्रयासप्रति कडा आपत्ति जनाउनुभयो। उहाँले भन्नुभयो, “केही दिन अगाडि राजाबादीले चुरिफुरी देखाएको थियो, तर हामीले मधेसबाट खबरदारी गर्दा ती हराएका छन्। यो व्यवस्था धेरैको बलिदानले आएको हो।”
यस अवसरमा उहाँले जग्गा दाता परिवारलाई धन्यवाद ज्ञापन गर्दै सामुदायिक भवनले स्थानीय विकास र सहकार्यमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।सोही वडामा डिहबार मन्दिरको पनि उद्घाटन गरिएको थियो ।




