रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ, राजनीतिक बहस तीव्र

[sharethis-inline-buttons]

धनुषाधाम , १४ चैत  । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमनसम्बन्धी घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। सरकारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै दुवै जनालाई पक्राउ गरिएको हो। आयोगले उनीहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।

प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।

यस घटनालाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले यसलाई कानुनी प्रक्रिया अनुसारको कारबाही बताएका छन् भने अन्यले राजनीतिक प्रतिशोधको रूपमा टिप्पणी गरेका छन्।

यसै विषयमा पूर्व एआईजी टेकप्रसाद राईले प्रतिक्रिया दिँदै घटनालाई पूर्ण रूपमा फौजदारी भन्दा पनि राजनीतिक दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन्। उनका अनुसार सत्ता परिवर्तन भइसकेको अवस्थामा यस्तो संवेदनशील विषयमा राजनीतिक तहबाट समाधान खोजिनु उपयुक्त हुने थियो।

राईले कारबाही प्रक्रिया पनि चरणबद्ध रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै अनुसन्धान, प्रमाण संकलन र बयानपछि मात्र पक्राउको कदम चालिनुपर्ने बताए। उनले पूर्वप्रधानमन्त्रीजस्तो उच्च पदमा बसेका व्यक्ति तुरुन्तै फरार हुने अवस्था नभएकाले हतारमा पक्राउ गरिएको जस्तो देखिएको टिप्पणी गरे।

यस घटनाले पुनः राजनीतिक तनाव बढाउने जोखिम रहेको उनको भनाइ छ। एमालेले विरोध प्रदर्शन गर्ने संकेत देखिएको भन्दै यस्ता कदमले द्वन्द्व निम्त्याउन सक्ने चेतावनीसमेत उनले दिएका छन्।

सरकारले भने आयोगको सिफारिस कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताउँदै कानुनी प्रक्रियाअनुसार अगाडि बढेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर