नवीन यादव, धनुष टिभी धनुषा — नेपाली कम्युनिष्ट पार्टी धनुषा निर्वाचन क्षेत्र नं. १ ले विभिन्न कार्यक्रम आयोजना गरी ३१औँ जनयुद्ध दिवस श्रद्धापूर्वक मनाएको छ। शुक्रबार आयोजित कार्यक्रममा जनयुद्धका शहीदहरूको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो।
कार्यक्रमलाई पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य मातृकाप्रसाद यादवले सम्बोधन गर्नुभएको थियो। उहाँले जनयुद्धका शहीदहरूले देखाएको मार्गदर्शन र बलिदानलाई स्मरण गर्दै सामाजिक न्याय, समावेशी विकास र जनअधिकारको पक्षमा पार्टीको प्रतिबद्धता दोहोर्याउनुभयो।
जनयुद्ध दिवसका अवसरमा धनुषाधाम नगरपालिकाले धनुषाधाम बजारमा, सबैला नगरपालिकाले सबैला बजारको खुल्ला मञ्चमा, गणेशमान चारनाथ नगरपालिकाले बिरेन्द्रबजारमा, हंसपुर नगरपालिकाले बकचौरा बजारमा तथा मिथिला विहारी नगर कमिटीले जनयुद्ध चोक मिथलेश्वरमा कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रम सम्बन्धित नगर कमिटी अध्यक्षहरूको अध्यक्षतामा सम्पन्न भएको थियो भने विभिन्न नेताकार्यकर्ताले सम्बोधन गरेका थिए।
वि.सं. २०५२ फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौतासँगै औपचारिक रूपमा शान्ति प्रक्रियामा रूपान्तरण भएको थियो।
दशकौँ लामो सशस्त्र द्वन्द्वपछि भएको उक्त सम्झौताले मुलुकलाई नयाँ राजनीतिक अध्यायतर्फ अग्रसर गराएको मानिन्छ। जनयुद्धको जगमा गणतन्त्र स्थापना, संघीय शासन प्रणालीको कार्यान्वयन, समावेशी लोकतन्त्रको अभ्यास तथा सामाजिक न्यायका एजेन्डा संस्थागत भएको विश्लेषण गरिन्छ।
जनयुद्ध दिवसका अवसरमा यिनै ऐतिहासिक उपलब्धिहरू स्मरण गर्दै शहीदहरूको योगदानको कदर गरिएको जनाइएको छ। यस अवसरमा आयोजित कार्यक्रमहरूले नेकपाको चुनावी गतिविधि थप सक्रिय बनेको र स्थानीय तहमा जनउत्साह बढेको पार्टीले जनाएको छ।
धनुषामा नेकपाद्वारा ३१औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर




